मेलबर्न शिखर सम्मेलन सम्पन्न, नवप्रवर्तन र दिगो विकासमा जोड

अनलाइनमंच ११, फागुन
मेलबर्न, अस्ट्रेलिया— नवप्रवर्तन र दिगो विकासलाई केन्द्रमा राख्दै मेलबर्न शिखर सम्मेलन 2025 भव्य रूपमा सम्पन्न भएको छ। हिमालयन आउट्रीच अन्तर्राष्ट्रिय अस्ट्रेलियाको आयोजनामा मेलबर्नको एस्कट भेलमा नेपाल, अस्ट्रेलिया, र अमेरिकाका सांसद, मेयर, जनप्रतिनिधि, उद्यमीहरू तथा विभिन्न क्षेत्रका विज्ञहरूको व्यापक उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै हिमालयन आउट्रीचका अन्तर्राष्ट्रिय निर्देशक डिएन घिसिङले स्वागत मन्तव्य दिए। त्यसैगरी एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया प्रदेश संयोजक मनिरत्न सापकोटाले अस्ट्रेलिया-नेपाल सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै बहुसांस्कृतिक अस्ट्रेलियामा नेपाली सांस्कृतिक गतिविधिको विशेष महत्त्व रहने बताए।
नेपाल खेलकुद विश्वविद्यालयका अभियन्ता एवं बोर्ड सदस्य डा. ओमकृष्ण प्रसाईंले नेपालमा खेलकुद विश्वविद्यालय स्थापनाको आबश्यकता र विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार तथा सहकार्य सम्भाव्यता अध्ययन सम्बन्धी संक्षिप्त अबधारणा पत्र प्रस्तुत गर्दै नेपाल-अस्ट्रेलिया सम्बन्ध खेलकुदमार्फत थप सुदृढ हुन सक्ने उल्लेख गरे। साथै, उनले खेलकुद शिक्षाको स्तरवृद्धिका लागि ज्ञान आदानप्रदान गर्नुपर्ने सुझाव दिए।
अमेरिकाबाट आएका प्रतिनिधि काशी अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा शान्ति र सद्भाव निर्माणको आवश्यकता औंल्याए। त्यसैगरी, डा. प्रदीप बास्तोलाले नवप्रवर्तन नै दिगो विकासको आधारशिला हुने विचारसहित अवधारणा पत्र प्रस्तुत गरे।
ग्रामीण-शहरी योजना सम्बन्धी छलफलमा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि कंडेलले मन्तव्य राखे भने डोर पाटन नगरपालिकाका वडा अध्यक्ष खिम घर्ती मगरले वृत्तचित्र प्रस्तुत गरे।
बङ्गलादेशका सञ्चारकर्मी एवं उद्यमी शार्मिन मिषुले अन्तरदेशीय व्यापारका सम्भावना र चुनौतीबारे अवधारणा पत्र प्रस्तुत गरिन्। सामाजिक अभियन्ता निरु त्रीपाठीले नेपाल-अस्ट्रेलिया कूटनीतिक सम्बन्धबारे प्रकाश पारिन्।
कार्यक्रममा भिक्टोरिया प्रदेशकी सांसद क्याथलिन म्याथ्यु वाडले नेपाली संस्कृतिको खुलेर प्रशंसा गरिन्। उनले नेपाली समुदायमा आफ्नो विशेष जोड रहेको उल्लेख गरिन्।
नेपालबाट पूर्वमन्त्री तथा संघीय सांसद प्रकाश ज्वालाले मेलबर्न शिखर सम्मेलनलाई ऐतिहासिक अवसरको रूपमा लिएको बताए। उनले नवप्रवर्तन र दिगो विकासमा यस कार्यक्रमको विशेष महत्त्व रहेको बताए।
कार्यक्रमको सभापति उर्मिला तामाङले आगामी दिनमा अमेरिका र नेपालमा पनि यस्तै सम्मेलन आयोजना गरिने जानकारी गराइन्।
कार्यक्रममा नेपालबाट राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र बिस्ट, वान्डिम सिटी काउन्सिलका पूर्व मेयर एवं काउन्सिलर जेनी बारेरा, काउन्सिलर डा. जस्मिन हिल, नेपाली चलचित्र निर्माता संघका अध्यक्ष नवल खडका, लायन्स क्लब अफ वेरीबीका अध्यक्ष रेमन्ड लो लगायत दर्जनौँ विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE