शून्यबाट शिखर सम्म

जन्मदा खाली थियो, हातमा केही थिएन,
सपना बुनियो, तर बाटो सजिलो थिएन।
शून्यबाट शिखरसम्म उड्ने सबको रहर,
समयले राख्दो रहेछ हर मोडको खबर।
सम्झनाका धागोले बाँध्छ यो मन,
मक्किदै जान्छ बिस्तारै, सुन्दर भवन।
धूलोमा मिसिएर कयौका हराउँछ नाम,
जान्छन् सबै छोडेर प्रीत र संग्राम।
आफूभन्दा ठूलो छैन केही यहाँ भर
जिन्दगीको यात्रालाई माया सधै गर,
हाँस,हँसाउ र बाँच, मिठो बचन बोली
प्रेमले भरिदेउ दुःखी संसारको झोली
थाप्दैन काध कसैले यो पापी संसारमा
लड्दै खोजनु पर्दछ जिन्दगी चौबाटामा।
दु:खले खार्यो, सुखले जीवन सजायो,
अन्त्यमा हारेर शून्यमा जीवन मिलायो
सारंगीको तार झैँ जीवन,
तान्दै जति मिठास खोजिन्छ।
समयले बिर्साउँछ अनि,
सुन्यतामा सबै गुमाइन्छ।
जिन्दगी यो कथा हो,
रित्तो भएर पनि लेखिने।
मृत्युले अन्त्य गरला तर,
माया कहिल्यै नमेटिने।
हर पाइला यात्रा, जीत र हारको,
मायाले बाँध्ने खेल यो संसारको।
लडाइँ जिन्दगी हो, जीतकै लागि जिउ,
हर दुःखमा बाँच, पीडालाई भुलिदेउ ।
डा ओमकृष्ण प्रसाई
मिति २०८१ मङ्सिर २५ गते
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE