शुक्रबार, फाल्गुन १, २०८२
Friday, February 13, 2026

हामीसँगै छ खुशी, खुशी चिन्न सकौं

  • 69
  •  
  •  
  •  
  •  
  •  
  •  
    69
    Shares

डा. ओमकृष्ण प्रसाई
वर्तमानमा पसिना बगाउने हो भने, भविष्यमा आँशु बगाउनु पर्दैन । यो जीवनको शाश्वत सत्य कुरा हो । हामी दुःख पछि सुख आउछ भन्ने कुरामा विश्वस्त छौं । तर, अथाह खुशीका लागि किम्ती दुःख गर्न हिचकिचाउछौं ।
मान्छे प्राणी जगतकै सर्वश्रेष्ठ । आज दुनियाँको यो सर्वश्रेष्ठ प्राणी सुख र खुशीकै खोजीमा भौतारिरहेको छ । वास्तवमा खुशी कहाँ छ ?
खुशी…खुशी ….. खुशी !
आहा ! खुसी शब्द नै कति प्रिय । कति आनन्दमय, कति प्रेममय । कति आत्मिय । आज यही खुशीका लागि मानिस अहोरात्र खटिरहेको छ । आफूलाई बेचैनी र हैरानी दिइरहेको छ । तर, खुशी कहाँ छ ? कहाँ मिल्छ ? भन्ने कुराका खोजीमा लागिपरेहेको छ । फगत भौतिक सुख, सम्पत्तिमा खुशी देख्ने समाज र परिवेशमा निर्माण गरेर हामीले आफ्नै खुशीको श्रोत विर्सिरहेका छौं ।
हाम्रो शरीरको संरचना विशिष्ठ र विशाल छ । हाम्रै शरीरभित्र छ खुशी र दुःखको उत्पादन गर्ने कारखाना । हामीले त्यो कारखानाबाट खुशी उत्पादन गर्ने कि ? दुःख ? यो हाम्रै हातमा छ ।
जब पञ्च ज्ञानेन्द्रियले आनन्दको अनुभूति गर्छ तवहामीलाई खुसीप्राप्तहुन्छ।आखिरयोखुसीप्राप्त हुन्छ कसरी?प्रश्नजटिल छ, तर खोजी गर्न सक्यौं भने उत्तर निक्कै सजिलो छ । वास्तवमा खुसी प्राप्त गर्न कुनै ठूलो त्याग, तपस्या गर्नु पर्दैन र कुनै अर्को संसारमा भौतारी रहनुपर्ने आवश्यकता पनि छैन । खुसी त हामीभित्रै छ ।तर, त्यो प्राप्त कसरी हुन्छ ?त्यसको माध्यम के हो ? तरिका के हो, जान्नु पर्ने थोरै कुराहरु छन् । यदि हामी ती प्रक्रियाबारे जानकार हुन सक्यौं भने खुशी हाम्रै औलामा नाँच्न आइपुग्छ ।
प्रकृतिसँग स्वच्छ वातावरणमा केही क्षण हराउँदा, लामो श्वास लिदा साथीभाइसँग भेटघाट गर्दा, पुराना रमाइला क्षणहरू सम्झदा, अरुको प्रशंसा गर्दा अनि अरुप्रति कृतज्ञ रहँदा, पर्याप्त मात्रामा निन्द्रा पुग्दा,शारीरिक अभ्यासहरू गर्दा, नयाँ कुराहरू सिक्दा, उपलब्धिहरू हात लाग्दा, अधुरा कामहरू पूरा गर्दा, गर्मीबाट शीतलता प्राप्त गर्दा, जनवारहरुसँग खेल्दा, उनीहरुलाई ढाप मार्दा हाल मिलाउदा स्याबासी दिदा, हँसाउने प्रकारका सिनेमाहरू हेर्दा द्रुत गतिमा दौडदा आदि बिभिन्न गतिविधिबाट आनन्दप्राप्त हुन्छ । त्यही आनन्दले हामीलाई दीर्घकालीन खुशी दिइरहेको हुन्छ । मानव शरिर भित्रै रहने एक प्रकारको सकारात्मक ऊर्जा जो नभई नहुने केमिकल्सहरू हुन, तर यी सबै हाम्रै दैनिकीमा गरिने विभिन्न गतिबिधितथा महसुसबाट प्राप्त गर्न सकिन्छ ।
मानव शरीर एक जटिल प्रणाली हो, जसमा विभिन्न रसायनिक पदार्थहरू समन्वय गरेर कार्यहरू सम्पन्न गरी परिणामहरू दिने गर्दछन। यस्ता आनन्द र खुसीका परिणामहरू दिनका लागि यी रासायनिक पदार्थहरूमा केहि सकारात्मक खुसीका हर्मोनहरूले प्रमुख भूमिका खेल्छन्। मानव शरीरमा सकारात्मक सन्देश प्रवाह गर्ने, चार महŒवपूर्ण हर्मोनहरूडोपामाइन,सेरोटोनिन, अक्सिटोसिन र एन्डोर्फिन्सहरूको महŒव र भूमिकाबारे विस्तृत रूपमा चर्चा गर्नुपर्ने हुन्छ ।

यी हर्मोनहरूले हाम्रो भावनात्मक स्थिति, सामाजिक व्यवहार, र शारीरिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छन् भन्ने विषयमा बुझ्नुपर्दछ । हामीहरूले यी सकारात्मक हर्मोनहरू कसरी प्राप्त गर्न सक्दछौँ र यसका सुधारका कार्यहरू कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल पनि गर्नुपर्ने हुन्छ।
डोपामाइनः डोपामाइन यौटा न्यूरो ट्रान्समिटर हो जसले मस्तिष्कको पुरस्कार प्रणालीमा महŒवपूर्ण भूमिका खेलेको हुन्छ । यो हर्मोन अथवा रासायनिक पदार्थले खुशीका भावना, प्रेरणा, र उत्साहको स्तरलाई बढाउने गर्दछ । डोपामाइनले स्मरण, मानसिक अवस्था, निद्रा, सिकाइ, एकाग्रता, विभिन्न गतिविधि र शरीरका अन्य कार्यहरू नियन्त्रण गर्न भूमिका खेल्दै मानिसलाई आनन्द, सन्तुष्टि र प्रेरणाको भावना दिन्छ। राम्रोसँग निन्द्रा प्राप्त गर्न सक्यो भने साथै नियमित व्यायाम गर्दा, अनि अधुरा कामहरू पूरा गर्दा पनि यो शरीरलाई नभै नहुने डोपामाइन जस्तो तत्व प्राप्त गर्न सकिन्छ । साथै कुनै पनि आफूलाई मनपर्ने अत्यन्त राम्रो, मिठो खाना खाँदा खेरि पनि यो प्राप्त गर्न सकिन्छ।
भूमिकाः डोपामाइनको प्रमुख भूमिका प्रेरणा र पुरस्कार प्रणालीसँग सम्बन्धित छ। जब हामी केही नयाँ तथा सन्तोषजनक कुराहरुको अनुभव गर्छौं, जस्तो कि राम्रो खाना प्राप्त भएको अवस्था, कुनै नयाँ सफलता, वा कुनै रमाइलो क्रियाकलाप अनुभव गरेको बेलामा मस्तिष्कमा डोपामिनको मात्रा बढ्ने हुन्छ, यसले हामीलाई उत्साहित बनाउने र प्रेरणा थप्न बल पु¥याउने गर्दछ। डोपामाइनले हाम्रो ध्यान र संकल्प क्षमतामा पनि महŒवपुर्ण भूमिका खेल्छ। यसबाट काम गर्नको लागि उर्जा र ध्यान केन्द्रित गर्न मद्दत पुग्दछ । डोपामाइनको मात्रा बढ्नाले खुशी र सन्तोषको अनुभव गराउँछ। आनन्द र खुशीले हाम्रो मूडलाई सकारात्मक बनाउँछ र जीवनमा उत्साह थप्दछ ।
डोपामाइनको कमीः डोपामाइनको कमीले विभिन्न प्रकारका समस्याहरू देखा पर्न सक्दछन जस्तो कि पार्किन्सन रोग, डिप्रेशन, र ध्यान नहुनु अथवा एकाग्रतामा कमी जस्ता अवस्थाहरू उत्पन्न गर्न सक्छ। यसका कारण व्यक्तिहरूको ऊर्जा, प्रेरणा र खुशीको अनुभव घट्न सक्छ।
डोपामाइनका कमीलाई सुधारका उपायहरूः स्वास्थ्यकर जीवनशैली, नियमित व्यायाम, स्वस्थ आहार, पर्याप्त निद्रा, नयाँ र मनोहर गतिविधिहरूमा संलग्न हुनु जस्ता क्रियाकलापबाट डोपामाइनको सन्तुलन कायम राख्न मद्दत पुग्छ ।
सेरोटोनिनः यो पनि एक अर्को महत्वपूर्ण न्युरो ट्रान्समिटर हो जसले मस्तिष्कमा भावनात्मक र सामाजिक व्यवहारहरुको समन्वय गर्ने महत्वपूर्ण भुमिका खेलेको हुन्छ । यो हर्मोनलाई खुशीको हार्मोन भनेर चिनिन्छ। ध्यानमा बसेको बेला, गर्मीबाट शीतलता प्राप्त गरेको बेला यस्ता अवस्थाहरुमा पनि यो सेरोटोनिन प्राप्त गर्न सकिन्छ।
भूमिका र प्रभावहरु ः सेरोटोनिनले मनोवैज्ञानिक अवस्थामा महŒवपूर्ण भूमिका खेल्दछ । यो हार्मोनको उचित सन्तुलनले आनन्द, खुशी, र चित्तमा शान्ति ल्याउँदछ। सेरोटोनिनको प्रभाव सामाजिक सम्बन्ध र व्यवहारमा पनि देखिन्छ। यसले स्नेह र मित्रता जस्ता सकारात्मक सामाजिक बन्धनहरुलाई प्रोत्साहित गर्ने गर्दछ । निन्द्राको गुणस्तरमा समेत सुधार ल्याउँछ र पाचन प्रणालीलाई पनि सन्तुलित राख्न मद्दत गर्छ। सेरोटोनिनले निद्रा, स्मरणशक्ति, सिक्ने क्षमता, आनन्द, शरीरको तापक्रम, भोक र यौन व्यवहारलाई प्रोत्साहित गर्ने गर्दछ । मानव शरीरको अधिकांश सेरोटोनिन पेटमा हुन्छ; केवल १०% मात्र दिमागमा बनेको हुन्छ । कहिलेकाँही औषधि वा औषधिको संयोजनको कारणले शरीरमा सेरोटोनिन नामक रसायनको मात्रा धेरै हुन्छ। यसरि सेरोटोनिन रसायनको मात्रा शरिरमा बढि हुन गएमा सेरोटोनिन सिन्ड्रोम हुन सक्छ । यो अवस्था दुर्लभ भएता पनि धेरै गम्भीर छ । यदि यसको छिटो उपचार गरिएन भने, यसले मृत्युसमेत निम्त्याउन सक्छ। तर अधिकांश मानिसहरू उपचार पछि पूर्ण रूपमा निको भएका हुन्छन्।
सेरोटोनिनको कमीः सेरोटोनिनको कमीले चिन्ता र मानसिक असन्तुलन उत्पन्न गर्न सक्छ। यसका लक्षणहरूमा निराशा, उदासी, र ऊर्जाको कमीहरु हुन।
स्वस्थ आहार, व्यायाम र ध्यानः सेरोटोनिनको उत्पादनलाई बढावा दिनका लागि काजु, किसिमस, पेस्ता, बदाम तथा गेडागुडीजन्य र माछा जस्ता खाद्य पदार्थहरू महत्वपूर्ण छन् । नियमित व्यायाम र ध्यानले सेरोटोनिनको सन्तुलनमा मद्दत पु¥याउछ र मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।
अक्सिटोसिनः अक्सिटोसिन यस्तो अवस्थामा उत्पन्न हुन्छ कि मानिसले कुनै जनवारहरुसँग खेल्दा, उनीहरूलाई ढाप मार्दा, हात मिलाउदा, स्याबासी दिदाजस्ता बेलामा पनि यो अक्सिटोसिन शरिरलाइ प्राप्त हुन्छ । अक्सिटोसिन ‘प्रेम हार्मोन’ वा ‘बन्डिंग हार्मोन’ भनेर पनि चिनिन्छ। यो हर्मोन सामाजिक सम्बन्ध र भावनात्मक बन्धनलाई मजबुत पार्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
भूमिका र प्रभावहरूः अक्सिटोसिनले सामाजिक सम्बन्ध र बन्धनलाई प्रोत्साहित गर्छ।यसले स्नेह, माया, प्रेम, सद्भाव, विश्वास र सामाजिक सम्बन्धमा गहिरो जडान निर्माण गरेको हुन्छ। अक्सिटोसिनको प्रभाव मातृत्व र सुत्केरी प्रक्रियामा पनि देखिन्छ। यसले प्रसव पीडालाई कम गर्न मद्दत गर्छ र मातालाई बच्चासँग भावनात्मक रूपमा दरो बनाउनमा सहयोग पु¥याउछ। अक्सिटोसिनले आत्मविश्वास बढाउँछ र राम्रो संचार गर्न मद्दत गर्छ।
अक्सिटोसिनको कमीः अक्सिटोसिनको कमीले सामाजिक बन्धनको कमी, तनावर आत्मविश्वासको कमी ल्याउन सक्छ । यसले सामाजिक असुरक्षा र एक्लोपनाको भावना बढाउन सक्छ।
सुधारका उपायहरूः परिवारहरूसँग, साथीहरूसँग समय बिताउने र सकारात्मक सामाजिक सम्बन्ध राख्नाले अक्सिटोसिनको सन्तुलन कायम राखि सम्बन्धलाई मजबुत बनाउन प्रोत्साहित गर्न सक्दछ।
एन्डोर्फिन्स ः एन्डोर्फिन्स हाम्रो शरीरका ‘प्राकृतिक पेनकिलर’ हो। यो हर्मोन शरीरको पीडा र तनावलाई कम गर्नका लागि जिम्मेवार रहेका हुन्छ । यदि कोहि मानिस द्रुत गतिमा दौडन्छ, हँसाउने प्रकारका फिल्महरू हेर्दछ वा यसका साथसाथै एकदम मज्जासँगले हासेको बेलामा एन्डोर्फिन्स उत्पन्न हुन्छ।
भूमिका र प्रभावहरूः एन्डोर्फिन्सले शरीरलाई प्राकृतिक रूपमा पेनकिलरको रूपमा कार्य गर्दै पीडाबाट राहत दिने गर्दछ । एन्डोर्फिन्सको मात्रा बढ्दा खुशी र सन्तोषको भावना बढ्ने गर्दछ । यसले शारीरिक र मानसिक स्वास्थ्यलाई सकारात्मक रूपमा असर पु¥याउछ । व्यायाम गर्दा र हाँस्दा एन्डोर्फिन्सको मात्रा बढ्छ, जसले तनाव कम गर्छ र मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।
सम्भावित समस्याहरू र समाधानः एन्डोर्फिन्सको कमीले पीडा र तनावको उच्चस्तर अनुभव गर्न सकिन्छ । यसले शारीरिक र मानसिक असुविधा बढाउन सक्छ । नियमित व्यायामले एन्डोर्फिन्सको मात्रलाई बढाउँछ र पीडा र तनावलाई कम गर्न मद्दत गर्दछ । हासो मजाक तथा रमाइलो गतिविधिहरूले पनि एन्डोर्फिन्सको मात्रालाई प्रोत्साहित गर्छ।
हामीबाटै प्राप्त हुने यी हर्मोनहरू प्राप्त गर्न कुनै महासागर धाउनु पर्दैन । यी सबै सकारात्मक हर्मोनहरूका स्रोत हामीहरू नै हौँ । वास्तवमा यी चार ह्यापी केमिकल्सहरू शरीरलाई नभै नहुने तत्वहरु हुन । हामी एकआपसमा खुशि र माया साटासाट गर्न छोडिसकेका छौँ । आफूसँगै बसेको आफ्नो सहकर्मी मित्र र आफन्तसँग भावनाहरु साट्न छोडेर हामी सामाजिक सञ्जालमा स्टाटस लेख्न व्यस्त बन्न थालेका छौ । सामाजिक सञ्जालमा रमाउन जान्ने हामी आजकल टिभी, ल्यापटप, मोबाइल तथा इलेक्ट्रोनिक ग्याजेटहरुमा अव्यस्त भएका कारण सामाजिक हुन छोडेका छौं । गहिरोसँग नियालेर हेर्ने हो भने हामीबाट विस्तारै विस्तारै आत्मियता, सद्भाव, हार्दिकता हराउदै गइरहेको छ ।
त्यसैले आउनुहोस् एकपटक लामो श्वास लिऔं, दैनिक ब्यायाम गरौ, पर्याप्त मात्रामा निद्रा पु¥यायौ, अरुप्रति कृतज्ञ रहौ, नयाँ र मनोहर गतिविधिहरूमा संलग्न हुन सिकौ, अरुको प्रशंसा गरौ, थोरै समय निकालेर साथीभाइसँग भेटघाट गरौं, साना–साना सफलतामा पनि खुसी हुन सिकौँ, स्नेह, माया, प्रेम, सद्भाव, विश्वासलाई जोड्दै सामाजिक सम्बन्ध निर्माण गरौँ। प्रकृतिमा रमाऔं,‘दुःख बाँडे दुःख बढ्छ, खुसी बाँडे खुशी ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x