मेलबर्न समुदायमा एकता र पहिचानको योजक गान्धीजी।

डी एन घिसिङ
मेलबर्न अष्ट्रेलिया
सामाजिक काम भनेको आफू फुर्सदमा रहँदा अथवा आफूलाई पुगिसरि भए पछि मात्र गर्ने भन्ने कुरा हुँदैन। यो भावना भनेको त अन्तस्करणबाट नै आउनुपर्दछ। समाज आफैं बन्दैन यसका लागि विभिन्न योजक तथा सूत्रधारहरूले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन। व्यस्त, जटिल तथा व्यवसायिक समाज हो अस्ट्रेलियाको मेलबर्न समाज। यद्यपि आफ्नो करियरलाई निरन्तरता दिँदै सामाजिक क्रियाकलापमा सक्रिय नाम हो गान्धि प्रसाद भट्टराई। उहाको सामाजिक योगदानको महत्त्व केवल मेलबर्नमा मात्रै नभएर, सम्पूर्ण अस्ट्रेलियामा समेत फैलिएको छ। उहाँको कार्यले नेपाली समुदायलाई मात्र होइन, अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा पनि सकारात्मक प्रभाव पारेको छ। उहाँको समर्पण र निरन्तर प्रयासले नेपालीहरूको सांस्कृतिक र सामाजिक पहिचानलाई बलियो बनाएको छ र एकताबद्ध, संगठित र सशक्त समुदायको रूपमा प्रस्तुत गरेको छ।
गान्धि भट्टराईको नेतृत्वमा, अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एनएमसी)ले नेपाली समुदायका विभिन्न आवश्यकता र चासोहरूको प्रतिनिधित्व गर्दै महत्त्वपूर्ण भूमिका निभाउँदै आएको छ। संस्थागत र सामाजिक दृष्टिले यो एक माइलस्टोन हो, जसले नेपालीहरूको आवाजलाई प्रमुख प्लेटफर्ममा पु-याएको छ। यसका साथै, उहाँको योगदानले मेलबर्नमा रहेका नेपाली युवा पुस्तामा उत्साह र प्रेरणा प्रवर्द्धन गरिरहेको छ, जसले आफ्नो सांस्कृतिक धरोहर र पहिचानलाई गर्वका साथ लाज नमान्दै बाहिर प्रस्तुत गर्न समेत थालेका छन्। अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एनएमसी)संस्थाको सफल कार्यकाल सम्पन्न गरी बृहत्तर गुरु योजना तयार पारी भर्खरै मात्र नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्नुभएको छ।
गान्धि भट्टराईको कार्यलाई केवल एक सामाजिक अभियन्ताको दृषटिको्ण बाट मात्र होइन, एक सांस्कृतिक मार्गदर्शकको रूपमा पनि हेर्नु पर्दछ। उहाँको नेतृत्वमा, मेलबर्नका नेपालीहरूको जीवनशैली, धर्म, परम्परा र चाडपर्वलाई नयाँ स्वरूपमा मनाउने प्रयास गरिएको छ। उहाँले समुदायका सबै उमेर समूहका लागि समान अवसर र सहभागिता सुनिश्चित गर्नको लागि विभिन्न कार्यक्रमहरूको आयोजना गर्नुभएको छ। उदाहरणस्वरूप, नेपाली नयाँ वर्ष, दशैं, तिहार,महाशिवरात्री, होली जस्ता प्रमुख चाडपर्वहरूको आयोजनाले नेपाली समुदायमा आत्मीयता, भातृत्व, सद्भाव र समर्पणको भावना जगाएको छ।
गान्धिको नेतृत्वले नेपालीहरूको सामाजिक समृद्धि र कल्याणमा गहिरो प्रभाव पारेको छ। उहाँले नेपाली समाजलाई कुनै पनि प्रकारको असहयोग र विभाजनका भन्दा बढी एकताको महत्त्वमा जोड दिनुभएको छ। उहाँको उद्देश्य सधैँ नेपाल र नेपाली समाजको एकता र सहयोगलाई सुदृढ पार्नु हो, जसका लागि उहाँले विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमहरूका माध्यमबाट नेपाली समाजको सामूहिक चेतना र आत्मीयतालाई प्रवर्द्धन गर्नुभएको छ।
यसका साथै, गान्धि भट्टराई एक उत्कृष्ट संगठनकर्ता र नेतृत्वकर्ता पनि हुनुहुन्छ। अत्यन्तै सरल तथा मिजासिलो स्वभावका उहाँले मेलबर्नका विभिन्न संस्थाहरू र समाजका बीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्न धेरै समय र श्रम खर्च गर्नुभएको छ। यसरी, उहाँको कार्यहरूले नेपाली समाजलाई केवल प्रवासमा मात्र होइन, नेपाल र अन्य अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई पनि सुदृढ बनाउन मद्दत पुर्याएको छ।
गान्धि भट्टराईका सामाजिक कार्य र नेतृत्वले नेपाली समुदायमा एक प्रकारको समृद्धि र प्रगति ल्याउने काम गरेको छ। उहाँका कार्यहरू आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्नेछन्। उहाँको बिना कुनै स्वार्थको सेवा र समुदायको प्रति उहाँको प्रतिबद्धता प्रबासका अन्य समुदायका लागि पनि एक आदर्श बन्नेछ। उहाँको योगदानलाई सम्मान गर्दै, नेपाली समुदाय सधैं उहाँको नेतृत्व र मार्गदर्शनमा आत्मविश्वासका साथ अघि बढ्नेछ।
गान्धि भट्टराईका यी सम्पूर्ण कार्यहरूले प्रबासमा नेपाली समाजलाई एक सशक्त र सम्मानित समुदायका रूपमा प्रस्तुत गरेको छ। उहाँको निस्वार्थ सेवा र नेतृत्वको कारण नेपाली समाजको संगठन र सामाजिक समृद्धि अझ बलियो भएको छ। उहाँका योगदानहरू र प्रेरणाले नेपाली समुदायलाई आत्म-विश्वास र एकता दिलाएको छ, जसले उनीहरूलाई भविष्यमा अझ सशक्त र सफल बनाउँछ। प्रवासमा रहँदै निस्वार्थ निष्ठाभावले नेपालीहरूको भावना जोड्न सफल हुनुभएका नेपालीहरूका ढुकढुकी आदरणीय समाजका योजक गान्धी भट्टराईप्रति नमन अनि साधुवाद ! साधुवाद ! साधुवाद !
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE